परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २० आइतबार

  • संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत कामु प्रधानन्यायाधीश दीपकराज जोशीले साउन १९ गते प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानविना नै समितिले निर्णय लिएकोले आफूमाथि अन्याय भएको बताउनुभएको खबर अखबारहरूमा प्रकाशित छ । यसैबीच, कामु प्रधानन्यायाधीश जोशी आइतबारदेखि १५ दिन बिदामा बस्नुहुने समाचार छ ।
  • सरकारले कृषि र दूग्ध पदार्थ आयातमा राजश्व बढाउन लागेको समाचार छ । कृषिजन्य वस्तुको आयात बढ्नाले स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
  • देशभरमा ९० प्रतिशत रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । गतवर्ष यही अवधिमा ७७ प्रतिशतमात्र रोपाइँ भएको थियो ।
  • सरकारले ३२ हजार कर्मचारी हटाउन लागेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
  • देशको ३६ लाखभन्दा बढी घरधुरीमा नवीकरणीय उर्जा पुगेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • उदयपुरस्थित इलाका प्रशासन कार्यालय, कटारीले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ को अवधिमा राहदानी शुल्कबाट ११ लाख ५० हजार राजश्य सङ्कलन गरेको समाचार छ । यस अवधिमा कटारी क्षेत्रका एक हजार दुई सय ४० पुरुष र चार सय ३० महिलाले राहदानीका लागि निवेदन दिएका थिए ।
    भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले बरोबार पहिरोको चपेटामा परेको मुग्लिन-नारायणगढ खण्डको साउन १९ गते निरीक्षण गर्नुभएको छ । मन्त्री महासेठले पहिरो नियन्त्रणका लागि हरसम्भव उपाय अपनाउन सडक विभागका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
  • वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा एकजना महिलाको मृत्यु भएपछि सात सदस्यीय छानबिन समिति गठन गरिएको समाचार छ ।
  • तेह्रथुमको म्याङलुङ नगरपालिका -९ वडा कार्यालयले स्वास्थ्यचौकीमा गर्भ जाँच गर्न आउने गर्भवती महिलालाई प्रोत्साहनस्वरूप प्रत्येक पटकको जाँचमा दशवटा अण्डा वितरण गर्न थालेको समाचार छ ।
  • मादक पदार्थ सेवन गरी हिँडेको अभियोगमा यातायात व्यवस्था कार्यालय, लाहानका निमित्त कार्यालय प्रमुख ज्ञानु शाहलगायत चारजना तेह्रथुममा पक्राउ पर्नुभएको छ ।
  • नेपाल एकीकरणको अभियानमा पृथ्वीनारायण शाहलाई आर्थिक विषयमा उपयोगी परामर्श दिने बिसे नगर्चीको शालिक गोरखाको गोरखा नगरपालिका- मा निर्माण गरिएको छ ।
  • म्याग्दीका दुई तिहाइभन्दा बढी भूकम्पपीडित अनुदानवापतको दोस्रो किस्ता लिन नआएको समाचार छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि असार मसान्तसम्म समयसीमा तोकेको  थियो ।
  • भरतपुर महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि लगत सङ्कलन कार्य अघि बढाएको छ ।
  • विभिन्न माग राख्दै कर्मचारी युनियनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा तालाबन्दी गरेको छ ।
Facebook Comments