परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

इमरानको उदयसँगै नयाँ युगमा पाकिस्तान

पाकिस्तानी आमचुनाव २०१८

पाकिस्तानी पूर्व क्रिकेट-कप्तान इमरान खानले अब देशकै कप्तानी सम्हाल्ने अवसर पाएबाट उनी विश्व–चर्चित बनेका छन् । स्वतन्त्र पाकिस्तानभन्दा पाँच वर्ष कान्छा इमरान खानले २५ जुलाईमा भएको आम निर्वाचनमा ११५ स्थानमा पाएको विजयले पाकिस्तानमै मात्र हैन, दक्षिण एशिया र विश्वमै तरङ्ग उत्पन्न गरेको छ । इमरान खान जन्मिनुभन्दा ४६ वर्ष पहिले सन् १९०६ मा भारतमा बनेको मुस्लिम लिगको मूल ढिक्को अलि जिन्हासँगै पाकिस्तान अवाममा छिरेपछि मुस्लिम लिग एउटा इतिहास बोकेको पाकिस्तानी पार्टी बन्न पुगेको थियो । यो पार्टीको आरोह र अवरोहका विभिन्न चरणमा इमरान खान टक्कर दिने हैसियतमा थिएनन् । किनकि उनी युवा समयमा क्रिकेट खेलाडी थिए । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै इमरान खानले झण्डै साढे सात हजार रन जोड्दा पाकिस्तानका संस्थापक अलि जिन्हाको पार्टी मुस्लिम लिगसँग उनको सम्बन्धको कुनै हिसाब कसैलाई खोज्न फुर्सद पनि थिएन र मतलब पनि थिएन । त्यस्तै इमरान खानले झणडै २७ हजार जति बलिङ गर्दा पनि उनलाई राजनीतिक आँखाले कसैले हेर्ने कुरै थिएन । उनका छक्का र चौकोको बौछारमा मुस्लिम लिगका कार्यकर्ताले ताली नलगाउने कुरै थिएन । अर्थात्, मुस्लिम लिगको विजयमा इमरान खानलाई कुनै आपत्ति थिएन र इमरान खानको विजयमा मुस्लिम लिगलाई ।

तर पाकिस्तानको बारम्बारको सैनिक तख्ता पलटले मुस्लिम लिगको राजनीतिक यात्रा भने सधैँ सुखद रहेन । मुस्लिम लिग पनि बेला बेलामा टुक्रियो । १९८८ को परिवर्तनपछि नवाज सरिफ केन्द्रीय राजनीतिमा आए । पूर्व प्रधानमन्त्री अलि भुट्टोले स्थापना गरेको पाकिस्तानी पिपुल्स पार्टीकी नेतृ थिइन् उनैकी छोरी बेनजिर भुट्टो । नेपालमा वि.सं. २०४६ सालपछिका राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले) जस्तै पाकिस्तानमा नवाज सरिफ र बेनजिर भुट्टोका पार्टी बन्न पुगेका थिए । एउटा सत्तामा भए अर्को विपक्षमा । जनरल परवेज मुसर्ररफले १९९९ मा राजनीतिक तख्ता पलट नगरेसम्म यी राजनीतिक शक्ति कायम रहे । भ्रष्टाचारले डुङडुङ गन्हाएरै यी राजनीतिक शक्ति अगाडि बढिरहे ।

क्रिकेट खेलाडी इमरान खानले यिनै पार्टीको दबदबाका बीचमा सन् १९९६ मा खेल जीवनलाई राजनीतिमा मोड्दै तहरिक – ए – इन्साफ पार्टी स्थापना गरे । त्यतिखेर धेरैलाई लागेको रहेछ, इमरान खानको पार्टी लहडमा खोलिएको हो र समयसँगै यो हराएर जान्छ । इमरान खान हारबाट नडराउने खेलाडी थिए भन्ने कुरा त पहिले नै पुष्टि भएको थियो । तर क्रिकेट खेल र राजनीतिक खेल फरक कुरा थिए । उनलाई राजनीतिमा जम्न त्यति सजिलो थिएन । पाकिस्तान स्थापना भएदेखि यताको आधा दशकको इतिहासमा सन् १९९७ को आम निर्वाचनबाट अलि जिन्हाले स्थापना गरेको पार्टीको मूल घटक पाकिस्तान मुस्लिम लिग -एन दुई तिहाई बहुमत ल्याउन सफल भयो । त्यसको नेतृत्व गरेका थिए नवाज सरिफले । उनको दुई तिहाई बहुमतको सरकारले सेनाका प्रमुखलाई हटाएर परवेज मुसर्ररफलाई प्रधान सेनापति बनाएपछि उनै मुसर्ररफले १९९९ मा बिनारक्तपात तख्तापलट गरी सरीफलाई विदेश निर्वासन गरिदिए । सरिफ विदेश भ्रमणमा रहेका बेला उतैबाट देश नफर्कन आदेश दिई मुसर्ररफले सत्ता सम्हाले र केही समयपछि आफूलाई राष्ट्रपति घोषित गरे । मुस्लिम लिगमा फुट आयो । ठूलो गुट मुसर्ररफको समर्थक बन्यो । यहीबीचमा इमरान खानले पनि मुसर्ररफकै समर्थन गरे । मुसर्ररफ खानले पाकिस्तान मुस्लिम लिग स्थापना गरी जिन्हाको असली उत्तराधिकारी आफू नै भएको सन्देश दिए ।

सन् २००२ को आम चुनावमा इमरान खानले मुसर्ररफकै विरोध गरे । सन् २००८ मा बामपन्थी दल पाकिस्तानी पिपल्स पार्टीकी नेतृ बेनजीर भुट्टोको चुनावी र्यालीका क्रममा आतङ्ककारी आक्रमणका कारणा ज्यान गयो भने यो चुनावसँगै परवेज मुसर्रफको बहिर्गमन भयो । २०१३ को चुनावमा नवाज सरिफ फेरि प्रधानमन्त्री भए । त्यसो त बेनजीर भुट्टो पनि दुई पल्ट पाकिस्तानको प्रधानमन्त्री बनिसकेकी थिइन् । पनामा पेपर्स काण्डपछि सरिफको राजनीतिक भविष्यमा ब्रेक लाग्यो ।

यसरी  बारम्बार पाकिस्तानी मुस्लिम लिगको सत्ता आरोहण र सन् १९८८ को परिवर्तनपछि पाकिस्तानी पिपल्स पार्टीको सत्ता आरोहणका क्रममा नेपालमा जस्तै भ्रष्टाचार व्यापक भएको चर्चा जनस्तरमा चुलियो । आतङ्कवाद पाकिस्तानको क्यान्सर नै बनेको छ । पाकिस्पातानको राजनीतिक अस्थिरताका लागि त्यहाँको सेना प्रमुख जिम्मेवार रहँदै आएको छ ।  सेनाले पाकिस्तानको राजनीति नियन्त्रणमा लिएका कम्तीमा आधा दर्जन बढी उदाहरण छन् ।

इमरान खानको विजय यात्रा 

पाकिस्तानी जनताको भावना र राष्ट्रियता भारत विरोधी रहेको छ । भारतसँग पाकिस्तानको सन् १९६५ र १९७१ मा भएको युद्ध पाकिस्तानीले बिर्सेका छैनन् । साथै, उनीहरूमा १९९९ मा भएको कार्गिल युद्धमा पनि पाकिस्तानको हारले मन कुँडिएको छ । उता आतङ्कवादले पाकिस्तानमा दहै जरा गाडेको छ । विकासका एजेण्डा छरिबरी छन् । राजनीतिक संरक्षण र मिलेमतोमा भ्रष्टाचार व्याप्त भएको अवस्थामा दह्रो नेतृत्वको खोजी हुनु स्वाभाविक थियो । इमरान खान भारत र अमेरिका विरोधीका रूपमा चिनिएका छन् । भारत र अमेरिका विरोधी छवि हुनु भनेको राष्ट्रवादी छवि त हुनु नै हो, साथसाथै चीनउन्मुख परिचय पनि हो । उनको यो छवि र परिचयलाई सेनाले समेत नियाल्यो र साथ दियो । महिला र युवालाई उनका आक्रामक भाषणले छोयो र एकताकाका खेलाडी र हिरो इमरान समयको खेलाडी र हिरो बन्न पुगे ।

सन् २००२ मा भएको आमनिर्वाचनमा १ मत मात्र ल्याउन सफल इमरान खानको पार्टी अहिले पहिलो ठूलो दल बनेकोमा विपक्षीहरूलाई पच्न सकेको छैन । आफूलाई पाकिस्तानका स‌ंस्थापक अलि जिन्नाहको असली उत्तराधिकारी जताउँदै आएको पाकिस्तानी मुस्लिम लिग – एन ६४ सिटमा मात्रै खुम्चेको छ भने अरेको एेतिहासिक पार्टी मानिएको भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्स पार्टीले त केबल ४३ सिट पाएको छ । सन् १९९६ मा राजनीतिमा देखापरे पनि राजनीतिमा इमरान खानको उदय सन् २०१२ बाट मात्रै हुन पुगेको थियो । यति छोटाे समयिभत्रै इमरानले धेरै मत ल्याउलान् भनेर नचिताएका विपक्षी दलहरू भने अहिले धाँधली भएको आरोप लगाइरहेका छन् । यसरी पाकिस्तानका संस्थापक अलि जिन्हाको उत्तराधिकारी रहेको पाकिस्तानी मुस्लिम लिगको वर्चस्व र दुर्ग क्रिकेट खेलाडी इमरान खानले यसपल्टको चुनावमार्फत् भत्काइदिए । उनलाई आफ्नो पार्टीको बहुमत आउँछ भन्ने लागेको रहेछ । तर त्यो भने सम्भव भएन । अझै उनलाई सरकार बनाउन २८ सिट नपुग देखिएको छ । यसका लागि उनले झण्डै आधा दर्जन जति साना दलका १९ सिट र १३ स्वतन्त्र सांसदहरूलाई फकाउनु आवश्यक रहेको छ । त्यसो त उपनिर्वाचनमा उनको पार्टी पाकिस्तान तेहरिक – ए – इन्साफ (पिटिआई) ले पाँचमध्ये केही सिट त जित्न सक्छ तर यो सरकार बनाउन पर्याप्त हुँदैन ।

इमरान खानका चुनौती

क्रिकेटका सफल खेलाडी र कप्तान इमरान खानले राजनीतिको पोख्त खेलाडीका रूपमा चिनिन अब परीक्षा दिनु पर्नेछ । विपक्षमा बसेर विरोधको राजनीति गर्नु र सत्ता सम्हाल्नु नितान्त फरक कुरा हुन् । यसर्थ उनका तीनखाले चुनौती रहेका छन्ः

१) आफैभित्रको चुनौतीः पहिलो चुनौती त आफूले फुकेर राजनीतिक गोटी चाल्नु र जनविश्वास कायम रहनसक्ने क्याबिनेट बनाउनु रहेको छ । उनले गरेका चुनावी बाचा व्यवहारमा कति उतार्न सक्ने भन्ने प्रश्न अहम् हुन पुग्छ । साथै, योग्य, अनुभवी र भरपर्दो टिम बन्न सकेन भने छिटै सत्ताबाट बहिर्गमन हुन सक्दैन भन्न सकिन्न । भ्रष्टाचारको मुद्दा उठाउन जति सजिलो छ, त्यसलाई नियन्त्रण गर्न त्यति नै चुनौतीपूर्ण छ । किनकि पाकिस्तानमा भ्रष्टाचार समाज र राष्ट्रको संस्कार र परम्परा भएर बसेको छ । ट्रान्सपरेन्सी इन्टरन्यासनलने गरेको सन् २०१७ को सर्वेक्षण प्रतिवेदन अनुसार पाकिस्तान ३२ अंक पाएर ११७ औँ स्थानमा रहेको छ । यो भनेको व्यापक भष्टाचार हुने देश भनेर बुझिन्छ ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

२) देशभित्रका चुनौतीः इमरान खानको सरकार एकमना बन्न नसक्ने हुनु भनेको नै यो बलियो सरकार नहुन सक्छ । पाकिस्तानको आधा शताब्दी लामो अस्थिर र तरल राजनीति केलाउने हो भने बहुमत ल्याएकै सरकार पनि बारम्बार अपदस्थ भएका छन् । सन् १९४७ मा पहिलो प्रधानमन्त्री बनेका लियाकत अलि खानको सन् १९५१ मा हत्या गरिएसँगै सुरु भएको पाकिस्तानको सत्ता अस्थिरताको श्रृङ्खला अहिले साइद खकन अब्बासीसम्म आइपुग्दासम्म कायमै छ । पाकिस्तान स्वतन्त्र भएयता अहिलेसम्म  १८ जनाले प्रधानमन्त्री पद सम्हालेकामा कसैले  पनि पूरा कार्यकाल बिताउन नपाएको इतिहास छ ।

पिपुल्स पार्टीका नेता पिता जुल्फीकर अलि भुट्टोदेखि पुत्री बेनजिर भुट्टोसम्म र मुस्लिम लिगका लियाकत अलिदेखि नवाज सरिफसम्म (पाकिस्तान मुस्लिम लिग – एन) सम्म सबैका नियति उस्तै छन् – कुनै न कुनै रूपले सत्ताबाट असमयमा हट्नु । यस्तो राजनीतिक पृष्ठभूमि भएको देशमा इमरान खानले पूरै समय सत्ता चलाउन पाउने सीँधा अनुमान गर्न कठिन छ ।

फेरि, पाकिस्तान भनेको देखिएर भए पनि नदेखिएर भए पनि सत्ता सञ्चालन गर्ने सेनाले नै हो । सेनाको इच्छा विपरीत न त त्यहाँ कुनै न्यायाधीश रहन सक्छ न प्रधानमन्त्री नै । यतिसम्म कि राष्ट्रपति पनि सेनाको इच्छा विपरीत पदमा रहन सक्दैन । पाकिस्तानमा जति पनि प्रधानमन्त्री असमयमै गए, तीमध्ये प्रायः सबै सेनाकै इच्छा अनुसार बहिर्गमनमा परे । अहिले इमरान खान पनि सेनाकै कठपुतली भएकै कारण चुनाव जितेको बुझ्नेहरूको संख्या पनि सानो छैन । प्रतिशोधपूर्ण पाकिस्तानको राजनीतिमा सेनाको स्वार्थ पूरा गर्न नसके इमरान खानले जत्रै भारी मत ल्याएर सत्तारोहण पनि कुनै पनि दिन झर्नुपर्ने निश्चित छ ।

पाकिस्तान आतङ्कवादले नराम्ररी घेरेको देश हो । अफगानिस्तानको सीमा जोडिएका क्षेत्रमा तालिबानी र अमेरिकी युद्ध खुलेआम छ भने अन्य धार्मिक कट्टरपन्थी संगठनहरूलाई कज्याउनु आफैँमा फालामको च्यूरा चपाउनु सरह हुनेछ । यसैगरी रोजगारी, शान्ति, सुरक्षा, महिलालाई शिक्षा र अवसर, मानवअधिकार, विकास, सुशासन जस्ता विषयको प्रत्याभूत दिन नसकेमा इमरान खानको लोकप्रियताको व्यारोमिटर तलै झर्न सक्छ । त्यसमाथि इमरान खानको सत्ता अनुभवको अभाव पनि उनका लागि चुनौती नै हो । साना पार्टी र स्वतन्त्र सांसदहरूलाई मिलाएर मात्रै स‌ंयुक्त सरकार बनाउनुपर्ने भएकाले यस्तो सरकार एकमना जति शक्तिशाली हुन नसक्ने र सरकार टिकाउन सत्ता सहभागी दल र सांसदहरूसँग सम्झौता गरिरहनुपर्ने बाध्यता पनि इमरान खानले व्यहोर्नुपर्ने छ । सरकारका साझेदार दलहरूको बार्गेनिङ क्षमता बढी हुनाले कतिपय मुद्दामा कि सम्झौता गर्नुपर्ने कि सरकारै गिर्ने चुनौती सधैँ रहनेछ । त्यसमा अनुभवी राजनीतिक खेलाडी विपक्षीले संसद्‌मा हुँडेल्ने विषयवस्तु र पकाउने  खिचडीले ल्याउने परिणाम पनि खानको सत्तायात्राको चुनौती रहनेछ । सीमित साधनस्रोतले मतदाताको अपेक्षा पूरा गर्न नसक्नुले पनि खानको लोकप्रियता क्षय हुनसक्छ । 

पाकिस्तानको अदालत पनि राजनीतिक अस्थिरत को जड बन्दै आएको पृष्ठभूमिमा भोलि अदालतले नै पनि इमरान खानलाई कुनै पनि अभियोग लगाएर पदमुक्त गर्न सक्दैन भन्न सकिन्न ।  प्रतिशोधपूर्ण र षडयन्त्रपूर्ण राजनीति गर्न माहिर प्रतिपक्षी राजनीतिक दलहरूले मौका कुरेर घात गर्ने कुरामा कुनै सन्देह छैन । स्वस्थ लोकतान्त्रिक संस्कारको विकास र संरक्षण  गर्नु तथा राजनीतिक स्थायित्व कायम गर्नु निकै ठूलो चुनौतीपूर्ण कार्यभार रहेको छ ।

३) बाह्य चुनौतीः अहिलेसम्म सानाठूला गरेर आधा दर्जन जति युद्ध गरेको भारतले आफ्नो विरोधी छवि भएका इमरान खानको विजयलाई सजिलै पचाउन सकेको छैन । पाकिस्तानका लागि सबैभन्दा बलियो शत्रु पनि भारत नै हो । भारतसँग सीँधै युद्ध लड्दा जहिले पनि हारेको पाकिस्तानको राष्ट्रियता नै सेनाको हातमा छ । सेनाको हातमा परराष्ट्र नीति पनि हुने भएकाले निर्वाचित प्रधानमन्त्री नै भए पनि इमरान खान सेनाको धारणा र नीति बाहिर गई भारतसँग सम्बन्ध राख्न बाध्य हुनेछन् । छिमेकीसँग उनले सन्तुलित सम्बन्ध राख्ने र क्षेत्रीय सङ्गठन सार्कलाई जीवन्तता दिने चुनौती पनि इमरान खानलाई थपिनेछ । उदाउँदो विश्व शक्ति चीन र महाशक्ति राष्ट्र अमेरिकासँगको सम्बन्धलाई खानको सरकारले कसरी सन्तुलनमा राख्न सक्छ, उनको भविष्य निर्धारणमा यसको महत्व रहनेछ ।

भारतसँग परिरहने टक्कर कम गरी सम्बन्ध सुधार्नु र चीनको विश्वासपात्र रहिरहनु इमरान खानका लागि त्यति सहज छैन । काश्मिर मुद्दा बल्झिरहने घाउ बनेको छ । भारतसँग कडा नदेखिँदा भित्रैबाट सेना र अनुदारवादी शक्तिले सत्ताच्यूत गर्ने वा ज्यानै लिनेसम्म चुनौती छ भने अनुदार मात्रै बनिरहँदा दक्षिण एशियामा पाकिस्तानको कुनै भूमिका देखिने छैन र झगडा या युद्ध मात्रैले पाकिस्तानको आन्तरिक विकासमा पनि बाधा पुग्ने छ । आतड्कवादलाई समाप्त गर्ने अमेरिकी र युरोपेली देशहरूको इच्छा पूरा गर्न नसक्दा उनीहरूसँगको सम्बन्ध राम्रो बन्ने छैन भने चीन पनि सशङ्कित नै रहने छ । भारतले त विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा यही विषयलाई उछालेर पाकिस्तानको तेजोबध गर्दै जाने नै छ ।

क्षेत्रीय सन्देशः 

इमरान खानका अगाडि बग्रेल्ती चुनाैती रहे पनि यो आमचुनावले दक्षिण  एशिया र बाँकी विश्वलाई एउटा सन्देश दिएको छ । त्यो के हो भने जनता सुशासन, विकास र जनआकांक्षा विपरीत चल्ने दल जति नै इतिहास बोकेका भए पनि तिनका पक्षमा जाँदैनन् र बिकल्प खोज्छन् । भारत र नेपालमा यसअघि नै लामो एेतिहासिक पृष्ठभूमि बोकेका दलहरू भारतीय कांग्रेस (आाई) र नेपाली कांग्रेसलाई नराम्री हराएर दुबै देशका जनताले यही सन्देश दिएका थिए भने अब यो सन्देश पाकिस्तानी मतदाताले दिएका छन् । इमरान खानको विजयले भ्रष्टाचारको विरोधमा र सुशासनको पक्षमा त्यहाँका जनता छन् भन्ने सन्देश दिएको छ । किनभने इमरान खानले आफूलाई जिताए भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने कसम खाएका थिए । लामो समयदेखि भ्रष्टाचार, बेथिति र अस्थिरताका कारण वाक्क भएका पाकिस्तानी जनताले इमरानलाई मत दिएका हुन् । यसर्थ, नेपाल, भारत, बांगलादेश, माल्दिभ्स लगायतका सार्क देशका राजनीतिक दल र नेताहरूलाई पनि यो एउटा सन्देश हो ।

अन्तिममा यौटा प्रश्नः के त इमरान खान क्रिकेटको रन जोड्नमा जस्तै सत्ता सञ्चालनको रन स्कोरमा पनि सफल र लोकप्रिय बन्लान् ? यो प्रश्नको उत्तर माथि लेखिएका चुनौतीको सामनामा भर पर्छ । (समाप्त)

Facebook Comments