परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ९ बुधबार

  • कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने छात्राहरूबारे दिनुभएको अभिव्यक्ति विवादास्पद बनेपछि राजीनामा दिनुभएको खबर अखबारहरूमा छापिएका छन् ।
  • प्रा.डा. गोविन्द केसी अनसन बसेको पच्चीसौं दिनमा सरकार र प्रा.डा. केसी पक्षबीच वार्ता साउन ८ गते भएको छ । वार्ता निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको र आज पुनः वार्ता हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रेस विज्ञप्तिमा उल्लिखित छ ।
  • वर्तमान सरकारले पूर्ववर्ती सरकारको पदचाप पछ्याउँदै पहुँचवाला नेता, कार्यकर्ता तथा संस्थालाई औषधोपचार तथा आर्थिक सहयोगको नाउँमा मनपरी किसिमले सात करोड बाँडेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
  • नेकपाले डोल्पाका निर्वाचत सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर त्यहाँबाट बामदेव गौतमलाई उठाउने तयारी गरेको समाचार छ ।
  • सरकारले २०७४ साल चैत १८ गते जारी गरेको यातायात कार्यविधि निर्देशिकामा नीतिगत त्रुटि रहेकाले सिन्डिकेट हिमायती यातायात व्यावसायीलाई यातायात सञ्चालनमा वैधानिकता मिलेको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • चिनी उद्योगीले आफूहरूसँग स्टक रहेको चिनी विक्री नभए आउँदो सिजनमा उखु खरिद गर्न नसकिने चेतावनी दिएको   छ ।
  • व्यक्तिको गोपनीयता भङ्ग गरेमा तीन वर्ष कैद हुने कानुनी व्यवस्थासहितको मस्यौदा तयार भएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।
  • संसदीय सुनुवाइ विशेष समितिले प्राधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध परेका उजुरीबारे उजुरीकर्ताहरूसँग साउन ८ गते विस्तृत छलफल गरेको समाचार छ ।
  • मोरङको केराबारी गाउँपालिका- कालापानीमा सर्पको टोकाइबाट पीडितहरूका उपचारका लागि सर्पदंश उपचार केन्द्र स्थापना गरिने समाचार छ ।
  • अमेरिकाको ओक्लोहमामा लुटेराको एक समूहले गोरखा घर भएकी रचना श्रेष्ठमाथि अन्धाधुन्ध गोली चलाएको र उहाँको अवस्था चिन्ताजनक रहेको खबर छ ।
  • ग्रीसको एथेन्स शहरनजिक भीषण आगलागी हुँदा ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
  • लाओसमा बाँध फुट्दा सयौं मानिस बेपत्ता भएको र छ हजारभन्दा बढी मानिस घरबारविहीन भएको पनि बीबीसीले नै जनाएको छ ।
Facebook Comments