परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धितो घर

“नमस्कार है हजुर ! बल्ल पो खाना खाँदै हुनुहुन्छ ?”
“आज शनिबार भएकोले मैले पनि घरमै खाना खाएर आएँ । अलि ढिलो भयो ।” ठूलो कान्छा ठेकेदारले फिस्स हाँस्दै भने ।
“केटाकेटी हुर्कदै गए । ठाउँ साँघुरो भयो । वैशाख भरिमा त जसरी भए पनि सकाइदिनु प¥यो ठेकेदार साप । केटाकेटीको पढाइ नै बिग्रला जस्तो भयो,” ढुण्डीले ठेकेदारलाई अनुरोध गरे ।
“ठेकेदार अङ्कल, सबैभन्दा पहिला मेरो कोठा सकाइदिनुस् है । डिस्टर्व भएर पढ्नै सकेको छैन । परीक्षामा त फेलै भइन्छ कि क्या हो !” प्रवृकले निधार खुम्च्याउँदै भने ।
“होइन ब्यारे अङ्कल, सबैभन्दा पहिला मेरो कोठा फिनिसिङ गरिदिनुस् । सानालाई पो प्राथमिकता दिनु पर्छ नि हैन अङ्कल ?” प्रवृत्तिले जिद्दी गर्दै भनिन् ।
“तपाईंहरू छलफल गर्दै गर्नोस्, म त लागेँ काममा,” बोल्दा बोल्दै ठूलो कान्छा आधी भर्‍याङ उक्लिसके ।
“बाबा मेरो कोठा तयार हुनै आँट्यो । कोठामा चाहिने सामान खाट, दराज, पर्दा, टि.भि. कार्पेट, लुगाफाटा किन्न गइहालौँ न है,” प्रवृकले बुबासँग अनुरोध गरे ।
“मेरो कोठामा त किताब राख्ने र्‍याक पनि चाहिन्छ । मैले त कोठामै पुस्तकालय बनाउने हो,” प्रवृत्तिले फुर्किदै भनिन् ।
“बिहे हुने कहिलेकहिले जन्त जाने अहिले भनेको यही हो । पहिला पूरै घर फिनिसिङ हुन देऊ न । अनि मात्र कोठा सजाउने सामान किनौला,” पुष्पाञ्जलीले छोरा छोरीलाई सम्झाउँदै भनिन् ।
“आम्मै घर थर्कियो !” सबैजना अचानक हड्बडाए । हेर्दा हेर्दै भान्साको टेबुल पनि लिन्ठिङ लिन्ठिङ हल्लन थाल्यो । ¥याकबाट भाँडा खसेर भूइँभरि भए । घरका भित्ता पट्याङपुटुङ चर्कन थाले ।
“भैँचालो आयो ! भैँचालो आयो !” भन्दै चिच्याउँदै ठूलो कान्छा ठेकेदार घरबाट बाहिर निस्के र बाटोतिर कुलेलाम ठोके ।
“भागम् ! भागम् !” ढुण्डी एक्कासी चिच्याए ।
“आम्मै मरिने भइयो,” पुष्पाञ्जली पनि चिच्याई । चारै जना जुठै हात सडकमा पुगे ।
सडकमा पुग्ने बित्तिकै आफ्नो घरका गाह्रा गल्र्यामगुर्लम्म ढलेको देखे ।
“आम्मै ! हाम्रो घर ढल्यो !” प्रवृत्तिले अत्तालिँदै चिच्याइन् ।
हेर्दाहेर्दै छिमेकका घर पनि भकाभक ढल्न थाले । मानिसहरू सडकमा निस्केर रुन, कराउन थाले ।
“अब के गर्ने ? घर भत्कियो, अब हामी कहाँ बस्ने ?” प्रवृकले ओठ कँपाउँदै सोधे ।
“नआत्तेउ छोरा । अरूले जे गर्लान्, हामीले पनि त्यही गरौँला नि,” ढुण्डीले लामो सास फेर्दै भने ।
साँझ पर्न लाग्यो । ढुण्डी र छिमेकीले सल्लाह गरेर खाली चउरमा छाप्रो बनाएर बस्ने निधो गरे । जमिन हल्लिरहेको थियो । त्यो रात सबै जनाले भोकै टहरामा बिताए ।
त्रासै त्रासमा एक हप्ता बित्यो । कहिले छाप्रो नजिकै आएर चितुवा डुक्रने । कहिल हुरी बतासले सताउने । भूकम्प त छिनछिनमा आउने दिनचर्या जस्तै भएको थियो ।
“बाबा, के हामी सधैँ यही टहरामा बस्ने हो ? अब हामी कहिल्यै आफ्नो घरमा बस्न पाउँदैनौँ ?” साँझको खाना खाँदै प्रवृत्तिले सोधिन् ।
छोरीको प्रश्नले ढुण्डी अक्क न बक्क भए । उनले न बोल्न सके न खान नै सके । ट्वालट्वाल्ती छोरीको मुखमा हेरिमात्र रहे । उनका आँखाबाट बर्बरती आँसु झरे ।
“तपाईले नै यसो गरेपछि हामी कसरी सम्हालिने ?” पुष्पाञ्जली पनि बोल्दाबोल्दै धर्रधरी रुन थालिन् ।
ढुण्डीले हिक्क गरे, जुरुक्क उठे र गएर जुठो हात धोए । घप्लक्क ब्लाङ्केट ओडेर सुते । उनी हिक्कहिक्क गरेको आवाज बाहिरै सुनिएको थियो ।
पुष्पाञ्जली, प्रवृक र प्रवृत्तिले एकछिन मुखामुख गरेर नबोली आ–आफ्नो ठाउँमा गएर सुते ।
मध्य रातसम्म उनीहरू निदाउन सकेनन् । एक्कासी छेउको चौधरी काकाको टहरामा उनकी आमा चिच्याइन् । “लग्यो, लग्यो, लौन बचाओ ।”
“छ्या कस्तो डिस्टर्व गर्‍या भन्या यी आमाले, भूकम्प आएको छैन के भन्या ।” चूप लागेर सुत्नुस् । चौधरी काका बोल्दाबोल्दै घ्वार–घ्वार घुर्न थाले ।
घन्द्र्याम्मको आवाज सँगै । ढिकमुनिबाट हजुरआमाको आवाज आयो, “एैया बा मा¥यो । लौन बचाओ ।”
”के भो ? के भो ? सबै टहराका मान्छे जर्‍याकजुरुक उठेर हजुरआमा भएको ठाउँमा झुरुप्प जम्मा भए ।
“आम्मै, आमालाई त चितुवाले कोतरेछ !” चौधरी काका एकाएक चिच्याए ।
हजुरआमाको शरीरभरि ह्वाल ह्वाल्ती रगत बगिरहेको थियो । शरीरभरि चितुवाले चिथोरेको घाउ नै घाउ थियो ।
सबै जना हडबडाइरहेका थिए । भीडबाटै एक जनाले एम्बुलेन्सलाई फोन गरेछ । मध्यरातमा एम्बुलेन्स साइरन बजाउँदै आयो र हजुरआमालाई अस्पताल लग्यो ।
त्यो रात कोही पनि निदाउन सकेनन् । त्रासै त्रास र हल्लीखल्लीमा रात बित्यो ।
अर्को दिन मिर्मिरेमा एम्बुलेन्स त्यहीँ आइपुग्यो । बिचरा हजुरआमालाई एघार ठाउँमा टाँका लगाउनुप¥यो दुख्यो, दुख्यो भनेर छटपटाइरहनुभएको थियो ।
रातभरिको अनिँदोका कारण छाप्राका सबै मान्छेहरू मस्त सुतेका थिए । ढुण्डीको परिवार पनि मस्त निद्रामा थियो ।
“ए मामा, उठ्नुस् । घाम डाँडामा आउँदासम्म पनि सुत्छन् ? ढुण्डीका भाञ्जाले झक्झक्याउँदै उठाए ।
उनले हातमा आफ्नो बिहेको कार्ड थमाउँदै, उर्दी जारी गर्दै भने, “लौ चाँडै हिड्नुस् । गाडी बुकिङ छ । छुट्नै थाल्यो। कपडा चाहिँ अलि भि.आई.पी. लगाउनु नि !”
त्यति बेलासम्म ढुण्डीका परिवार उठेर टसाक–टुसुक बसिसकेका थिए ।
ढुण्डीले श्रीमती र छोराछोरीको मुखमा पालैपालो हेर्दै लामो सास तानेर भने, “भान्जा, म यो बिहेमा जन्त जान सक्दिनँ । तिमीलाई थाहै छ । भूकम्पले खुला आकाशमुनिको बास बनाएको छ । चितुवाको आतङ्क देखेकै छौ । नजिक पनि होइन । जान आउन गरेर पूरै साता बित्छ ।”
उनले बोल्दाबोल्दै छोरीको मुखमा पिलिक्क हेरे ।
“बाबा, तपार्ईंलाई हाम्रो माया लाग्दैन भने जानुस् नत्र भने नजानुस् । पल्ला छाप्राकी हजुरआमालाई चितुवाले चिथोरेको देख्नुभएकै छ । तपाईंले नै भन्नुभएको होइन, माथ्लाघरे सुन्तलीलाई लोग्ने मान्छे घरमा नभएका बेलामा जड्याहरूले दुःख दिए भनेर ?” प्रवृत्ति बोल्दा बोल्दै भक्कानिई ।
“भूकम्प आउने, बाढी–पहिरो जाने र डढेलो लाग्ने काम त सधँे भैरहन्छ । मेरो बिहे त एक पटक मात्र हुने हो क्यारे । तपाईंको छोराको पनि बिहे होला । त्यति बेला पनि जन्ती चाहिएलान् । म अरू केही जान्दिनँ, खुरुक्क हिड्नुस्,” भान्जाले बुझ पचाउँदै भन्यो ।
“हेर भान्जा, जे कुराको पनि समय हुन्छ । मैले जहान परिवारलाई धरापमा राखेर तिम्रो बिहेमा गएर रमाउन सक्दिनँ । मेरो तर्पmबाट शुभकामना छ । राम्रोसँग बिहे गरेर आऊनू,” ढुण्डीले आफ्नो निर्णय सुनाए ।
“ठिक छ आजबाट मामा भान्जाको सम्बन्ध टुङ्गियो । अब मलाई भान्जा भनेर कहिल्यै नबोलाउनू । सकेसम्म यो जुनीमा देख्नै नपरे राम्रो,” भान्जाले मामाको परिवारलाई आँखा तर्‍यो र त्यहाँबाट हिड्यो ।
त्यतिबेलासम्म पुष्पाञ्जलीले खाना बनाई सकेकी थिइन् । सबैजनाले खाना खाएर घप्ल्याक घुप्लुक सुते ।
मध्य दिनमा उनीहरू मस्त सुतेका थिए । एकाएक गड्याङगुडुङको आवाजसँगै हुरी–बतास आयो । चारै जना जर्‍याकजुरुक्क    उठे । हेर्दाहेर्दै उनीहरूको पाललाई हुरीले चङ्गा उडाए झैं उडायो । उनीहरूले पाल टाँग्न गाडेका बासका खुट्टी समातेर बसे । वरिपरि उनीहरूका आफन्तका घर थिए । सबैले बार्दलीबाट हेरे तर कसैले पनि सहानुभूति देखाएनन् ।
बाबा, कसैको घरमा जाऊँ न ! हावाले उडाउला जस्तो भयो । असिना पानी पर्ला जस्तो छ । प्रवृकले डराउँदै भने ।
“तमासा हेर्नेको घरमा जानु हुँदैन छोरा । तिमीहरू एकछिन बस म माथ्लाघरेको घरमा कोठा खाली थियो, भाडामा दिन्छन् कि सोधेर आउँछु,” ढुण्डी बोल्दा बोल्दै पर पुगिसकेका थिए ।
“साच्ची मम्मी, के हामी अब कहिल्यै आफ्नो घरमा बस्न पाउँदैनौँ ?” प्रवृत्तिले फेरि त्यही कुरा सोधिन् ।
छोरीको प्रश्नले पुष्पाञ्जली भक्कानिई । उसका आँखा रसाए, गला अवरुद्ध भए । ऊ बोल्नै सकिनँ ।
ढुण्डी स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै त्यहाँ आइपुगेर भने, कोठा पाइयो । असिना आउला जस्तो छ, हिँडिहाल । सबैले अलिअलि सामान बोकेर कोठातिर दौडिए ।
कोठामा पुगेर सामान मिलाउँदै गर्दा प्रवृकले भने, “घर भत्किहाल्यो, अब जिन्दगीभरि यही कोठामा बस्ने त होला नि होइन    बाबा ?”
ढुण्डी र पुष्पाञ्जलीले मुखामुख गरे । छोरालाई केही उत्तर दिन सकेनन् ।
त्यो दिन छोराछोरीले खाना खाएर सुतिसकेपछि पुष्पाञ्जलीले मधुरो स्वरमा भनिन्, “मलाई त छोराछोरीको प्रश्नले हैरानै  बनायो । साँच्चै, हाम्रो घर जग्गा राखेर प्रकाशनको ऋण लिँदा बिमा गरेको थियो । केही क्षतिपूर्ति दिन्छ कि ? दिए त सानोतिनो घर बनाएर बस्न हुन्थ्यो ।”
“मैले पनि त्यही सोचिराखेको छु । भोलि अफिसमा बोर्ड बैठक छ त्यहाँ बुझ्छु ।” ढुण्डीले भने ।
भोलिपल्ट बिहानै ‘राम्रोसँग बस्नू, म चाँडै आउँछु,’ भनेर ढुण्डी प्रकाशनको कार्यालयतिर हिँडे ।
अब त सानो घर बनाएर आफ्नै घरमा बस्न पाइन्छ कि भनेर पुष्पाञ्जलीले सन्तोषको सास फेरिन् ।
सधैँ उज्यालैमा घर फर्कने ढुण्डी त्यो दिन रात ढल्कँदासम्म पनि फर्केनन् । मोबाइल पनि अफ थियो । पुष्पाञ्जली र छोराछोरी अलमलमा परे । उनीहरूले खाना पनि नखाई कुरेर बसिरहे ।
ढुण्डी रक्सीले मातेर लरखराउँदै आए र ढोकानेर उभिएर जड्याहाकै शैलीमा भने, “को रहेछ त्यो वकिल ? मैले त्यसलाई चिन्नु   छ ?” बोल्दा बोल्दै उनी भूइँमा बजारिए ।
“के भो हजुरलाई ? बिहे भएको यतिका वर्ष भयो । यसरी बेहोस हुन्जेल रक्सीले मातेको त थाहै थिएन !” पुष्पाञ्जलीले झक्झक्याउँदै भनिन् ।
प्रवृक र प्रवृत्तिले ट्वाल्ल परेर बुबाको चर्तिकला हेरिरहे ।
“थुक्क यस्तो पनि प्रा.डा., अरूलाई पीडा दिएर रमाउने ? के त सालालाई दुःख पर्दैन । लौ दुःख नपर्ला रे तर अरूलाई किन दुःख दिने ? ऊ बेला बैङ्कमा राख, हामी दुई तीन महिनामा सल्टाइदिन्छौँ भन्ने अहिले….?” ढुण्डी बर्बराइरहे ।
“हजुरले नै यसो गर्न थालेपछि के हुने होला हाम्रो भविष्य ? छोराछोरी साना छन्,” पुष्पाञ्जली बोल्दाबोल्दै भक्कानिइन् । उनको गला अरठ्ठियो ।
“त्यो विद्वान्ले भनेको, नपाइने रे !” उनले बोल्दा बोल्दै दाह्रा किटे ।
“के नपाइने रे बाबा ?” प्रवृकले दुःखी हुँदै सोध्यो ।
“इन्स्युरेन्सले दिएको क्षतिपूर्ति !” यति बेलासम्म उनका आँखा र गाला पनि आगो जस्तै भएका थिए ।
“कसले भन्यो यस्तो नचाहिने कुरा ?” पुष्पाञ्जलीले सोधिन् ।
“त्यही पीडक विद्वान् रमेशले ।” उनले जवाफ दिए ।
“किन रहेछ ?” पुष्पाञ्जलीले सोधिन् ।
“खै विद्वान्लाई वकिलले सल्लाह दिएको रे ।”
“मैले त के भनूँ र खै । त्यतिबेला नै अरूको विश्वासमा परेर छँदाखाँदाको घरजग्गा धितोमा नराखौँ भनेकै थिएँ । उहाँ जस्तो विद्वानले कसरी धोका दिनुहोला भन्नुभयो,” पुष्पाञ्जलीले पुरानो कुरा सम्झँदै भनिन् ।
“नभोगेको मान्छेको अगाडि त यो दुनियाँमा ऊ जत्तिको राम्रो मान्छे त अरू को होला र ? चिप्लो घसेरै फसायो ।”
“अनि हाम्रो घर धितो राखेर केको लागि ऋण लिएको नि ?” प्रवृकले सोधे ।
“हुन त किताब छाप्न भनेर झिक्न लगाएको हो तर आधाउधी रोयल्टी भनेर आफैं लियो ।” ढुण्डीले परिवारको अगाडि स्पष्टीकरण दिए ।
“बाबा, के हामीले बिमाले दिएको क्षतिपूर्ति पाउँदैनौँ त ?” लामो समय चूप लागेर बसेकी प्रवृत्तिले सोधिन् ।
“पाइन्छ छोरी । पक्कै पाइन्छ । पीडकको जीत क्षणिक हुन्छ । जीत त आखिर सत्यकै हुन्छ नि !” ढुण्डी फेरि बडबडाउन थाले ।
“बैठकमा अरू कोही हुनुहुन्नथ्यो ?” पुष्पाञ्जलीले सोधिन् ।
“सबै जना हुनुहुन्थ्यो,” ढुण्डीले छोटो उत्तर दिए ।
“उहाँहरू केही बोल्नु भएन ?” प्रवृकले सोधे ।
“किन नबोल्नू, मज्जाले बोल्नुभयो ?” ढुण्डीले अलि उज्यालो अनुहार बनाउँदै भने ।
“के भन्नुभयो त ?” प्रवृत्तिले सोधिन् ।
“ठिक छ रमेशजी हामीले ढुण्डीलाई क्षतिपूर्ति नदिउँ । जत्रो घर देखाएर ऋण लिएका थियौँ त्यत्रै घर बनाइदिउँ । प्रमोद सरले प्रस्ताव राख्नुभयो, अरू सबैले समर्थन जनाउनुभयो । ढुण्डीले बैठकको नालिबेली सुनाए ।
“त्यसपछि के भयो त ?” पुष्पाञ्जलीले सोधिन् ।
“बैठकमा उपस्थित सबैले उसलाई आँखा तर्न थाल्नुभयो । लाज लागेछ क्यारे । चस्मा लगायो र झोला भिरेर अफिसबाट नबोली निस्कियो ।”
“त्यसपछि ?” प्रवृत्तिले सोधिन् ।
“सबैजनाले एकै स्वरमा भन्नुभयो । सरी है ढुण्डी जी । उसले वकिलको हवाला दिएर हामीलाई अलमलायो । जसले गर्दा तपाईंको पीडामा मलमपट्टि लगाउनुको सट्टा झन् बढी पीडा थपियो ।
“त्यसो भए हाम्रो घर बन्छ त ?” प्रवृकले सोध्यो ।
“के हामी हाम्रै घरमा बस्न पाउँछौँ त ?” प्रवृत्तिले उत्साहित हुँदै सोधी ।
ढुण्डीले छोराछोरी र श्रीमतीको मुखमा पालैपालो हेरेर मुसुक्क मुस्कुराउँदै भने, “हाम्रो घर बन्छ । हामी हाम्रै घरमा बस्नेछौँ ।”
घरमा बस्न पाउने भएकोमा भन्दा पनि ढुण्डीका ओठको मुस्कानले गर्दा उनको परिवार खुसीले गद्गद् भयो ।
समाप्त

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

Facebook Comments