परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार  २५ सोमबार

  • गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडलले आइतबार अदालत समक्ष आत्समर्पण गरेको र उनलाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको सम्बन्धी समाचारहरू आज राजधानीबाट प्रकाशित सबैजसो अखबारमा छापिएका छन् । अधिकारीको २०६१ साल जेठ २४ गते चितवनमा हत्या भएको थियो । हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै उनका पिता नन्दप्रसाद अधिकारी र आमा गंगामाया अधिकारीले अनसन थालेकामा नन्दप्रसाद अधिकारीको अनसनमै निधन भयो भने गङ्गामाया अधिकारी अझ अनसनरत हुनुहुन्छ ।
  • विभिन्न माग राख्दै अनसन बसिरहनुभएका प्रा.डा. गोविन्द केसीको मागप्रति प्रधानमन्त्री केपी शर्मा ओली कठोर रहनुभएको खबरले अखबारहरू रङ्गिएका छन् । प्रधानमन्त्रीले आइतबार साँझ चिकित्सकहरूसँगको भेटमा केसीले राख्नुभएका केही माग पूरा गर्न सकिए पनि सबै माग भने पूरा गर्न नसकिने बताउनुभएको खबर छ ।
  • कर्मचारी अवकाशको उमेर हद ६० वर्ष कायम गर्न लागिएको समाचार छ । यसभन्दा अघि अवकाशको उमेर हद ५८ वर्ष थियो ।
  • सरकारले आफ्नो नीति तथा कार्यक्रममा विकास बजेट अन्त्य गर्न आर्थिक वर्षको अन्त्यमा भरमार खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्ने उदघोष गरे पनि यस्तो प्रवृत्ति कायमै रहेको र एकै दिनमा १० अर्बको भुक्तानी भएको समाचार नागरिक दैनिकमा छापिएको छ ।
  • लेखापरीक्षक विधेयकले महालेखा परीक्षकको अधिकारलाई झन कमजोर बनाएको समाचार राजधानी दैनिकमा छापिएको छ ।
  • यातायात मन्त्रालयले पुरानै समितिलाई बैधता दिन लागेको र यस सम्बन्धमा बनेको कार्यदलले प्रतिवेदन बुझाउन आलटाल गरेको समाचार कारोबार दैनिकले छापेको छ । यसबाट यातायात क्षेत्रमा सिण्डिकेट ब्युँताउन लागेको भन्दै यातायात मन्त्री रघुवीर महासेठविरुद्ध जनस्तरमा आलोचनाको स्वर सुनिन थालेको छ ।
  • जापानमा आएको बाढी पहिरोका कारणमा मर्ने र बेपत्ता हुनेहरूको संख्या क्रमशः १०० र ५० पुगेको बीबीसीले जनाएको छ ।
  • मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० तोकिएको छ । रोजगारदाता र टे्ड  युनियनका पदाधिकारीबीच भएको छलफलबाट मजदुरको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको हो ।
  • दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशंकर गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको र त्यहाँका १६० घरधुरी बस्नै नसक्ने अवस्थामा रहेको समाचार नेपाल टेलिभिजनले प्रसारण गरेको छ ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध तथा दूग्धजन्य पदार्थमा हुनसक्ने मिसावट तथा गुणस्तरको अनिवार्य रूपमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको खबर हाकाहाकी अनलाइन पत्रिकाले प्रकाशन गरेको छ ।
  • कलैयाको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी प्रमाणपत्र लिएमा प्रतिवर्ष १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।
  • सरकारले राजदूत हुनका लागि स्नातक हुनुपर्ने र अनिवार्य रूपमा अंग्रेजी जानेको हुनुपर्ने मापदण्ड बनाएको छ ।
  • गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषकलाई बाँड्ने अनुदानमा व्यापक अनियमितता भएको जनगुनासो चुलिएपछि सहसचिव तेजबहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
Facebook Comments