परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार २० बुधबार

 

  • कैलाश मानसरोबर यात्रामा अलपत्र परेका भारतीय तीर्थयात्रीहरूको उद्दार कार्य जारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्वीटमार्फत जानकारी दिनुभएको छ । यात्राका क्रममा ८ जाना यात्रीको निधन भएको खबर छ ।
  •  कैलालीको गौरीगंगा नगरपालिका ११ शिवपुरस्थित कटौनी खोलाले बगाएर सोही ठाउँका आठ वर्षीय सचिन भुल र १२ वर्षीय अमन चौधरीको मृत्यु भएको छ ।
  • रसुवामा गएराति जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवगञ्ज राजवंशी र विकास घर्ती मगर भएको खुलेको छ ।
  • सरकारी निकायका क्षेत्रीय कार्यालयहरूलाई खारेज गरी प्रादेशिक कार्यालयमा रूपान्तरण गर्ने अभ्यासमा लागिरहेको खबर आज प्रकाशित नेपाल समाचारपत्रमा छापिएको छ ।
  • संसद सचिवालयले सरकारबाहेक अरू कसैसँग आर्थिक सहयोग नलिने समाचार आज प्रकाशित कान्तिपुर दैनिकमा छापिएको छ ।
  • टोपेखोलमा पहिरो आएपछि मुग्लिन—नारायणगढ बिहानैदेखि अवरूद्ध भएको छ । एक तहको कालोपत्रे गर्ने कार्यसकिएपछि जेठ २३ गते देखि चौबीसै घण्टा सञ्चालनमा आएको उक्त सडक मनसुन शुरु भएपछि पटक पटक अवरुद्ध हुँदै आएको छ ।
  • राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न नपाइने सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले माइतीघर मण्डलामै भेला भएर विरोध प्रदर्शन गरेका छन् ।
  • काठमाडौं महानगरसँगको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १३४ स्थानमा पार्किङ स्थलको व्यवस्था गरेको छ ।
  • डोल्पामा दुई दिनदेखि सीडीएमए टेलिफोन सेवा अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
  • रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले आफ्नो कार्यकालभरि पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो पाँच वर्षको कार्यकालमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।
  •  विद्यार्थीको घट्दो संख्याका र व्यवस्थापकीय कमजोरीका कारण देशभरका ४ सय सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुगेकोबारे कान्तिपुर टिभीले रिपोर्टिङ गरेको छ ।
  • सरकारले शेरबहादुर देउवाको सरकारले २०७४ भदौ १४ देखि फागुन २ गतेसम्म गरेका सबै नियुक्ति बदर गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन, २०७४ का लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेपछिका पूर्ववर्ती सरकारले गरेका सबै राजनीतिक नियुक्ति अमान्य हुने निर्णय गरिएको हो ।
  • सरकारले संसदमा पेश भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिने र परिमार्जनसहित पुनः पेश गर्ने निर्णय गरेको छ ।
Facebook Comments