परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हेम–सरिता फाउण्डेशनद्वरा तीन पत्रकार पुरस्कृत

काठमाडौं / हेम-सरिता फाउण्डेसन टेक्सास, अमेरिकाले पत्रकारिता तथा संगीत विधाबाट पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरेको छ। फाउण्डेसनले गठन गरेको पुरस्कार छनोट समितिले मंगलबार सन् २०१८ का लागि पत्रकार तथा संगीत पुरस्कार प्राप्त गर्नेको नाम घोषणा गरेको हो।

अमेरिकाको टेक्सासमा रहेको फाउण्डेसनले हरेक वर्ष प्रदान गर्ने टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ। सम्मानपत्रसहित दुई हजार अमेरिकी डलर रहेको उक्त पुरस्कारबाट यसअघि जीवेन्द्र सिम्खडा, तीर्थ कोइराला, रवीन्द्र मिश्र, हरिबहादुर थापा र राजन शर्मा सम्मानित भइसकेका छन्। यसैगरी टंकप्रसाद-रमादेवी साधना पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम झापाका पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ। सम्मानपत्र र ५०० अमेरिकी डलर रकमसहित प्रदान गरिने यस पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार राजेश्वर नेपाली, मोहन भण्डारी, मदन ढकाल सम्मानित भइसकेका छन्।

यसैगरी ५०० अमेरिकी डलर र सम्मानपत्रसहित यस वर्षको टंकप्रसाद-रमादेवी प्रोत्साहन पुरस्कार थाहाखबर डटकममा कार्यरत दाङ निवासी देविका घर्तीमगरलाई पुरस्कृत गरिने भएको छ। यसअघि यो पुरस्कारबाट माधव विद्रोही, लीला बराल, लियाकत अलि सम्मानित भइसकेका छन्। यस वर्षको हेम-सरिता संगीत पुरस्कार वरिष्ठ कलाकार जेवी टुहुरेलाई प्रदान गरिने भएको छ। नेपाली कला र संगीतका माध्यमबाट समाज परिवर्तनका लागि विशिष्ट योगदान दिएवापत सम्मानपत्रसहित एक हजार अमेरिकी डलरसहित टुहुरेलाई पुरस्कृत गर्न लागिएको हो। यस पुरस्कारबाट यसअघि डा. भोला रिजाल, प्रेमराजा महत, सपना श्री, वीवी अनुरागी, जीवन शर्मा, कृष्ण कँडेल र नारायण रायमाझी सम्मानित भएका थिए।

पत्रकारिता पुरस्कार छनोटका निम्ति नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा जीवेन्द्र सिम्खडा तथा फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो। संगीत पुरस्कार छनोटका निम्ति प्रेमराजा महतको संयोजकत्वमा तीर्थ कोइराला, जीवेन्द्र सिम्खडा र फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो। घोषणा गरिएका पुरस्कार यसै वर्षको हिउँदमा काठमाडौंमा प्रदान गरिनेछ। अमेरिकामा रहेर व्यापार व्यवसायमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम-सरिता फाउण्डेसनले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको घुमारचोकस्थित उग्रतारा माध्यमिक विद्यालय भवन निर्माणमा सहयोग गरी कक्षा आठदेखि दशसम्म निजी खर्चमा संचालन गर्दै आएको छ। सोही क्षेत्रमा विपन्नहरूका लागि दशवटा आवास पनि निर्माण एवं जीविकोपार्जनका लागि कोष खडा गरी सामाजिक कामसमेत गर्दै आएको छ।

Facebook Comments