परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आमा सबैभन्दा बढी खुशी हुनुभयो

जव आफ्नी छोरीलाई नौ जना केटाले मन पराए

 

मनमा उर्लेका भावहरू नदी जस्तै सलल बगिरहेछन् । जीवनका विभिन्न रङहरू जस्तै भावहरूका पनि रङहरू हुने रहेछन्। लेख्न मन लाग्छ के लेखौँ भनेर आफ्नै मनलाई सोधेँ। त्यसले बारम्बार भावहरूको बारेमा लेख भनिरह्यो।

मलाई पढाइ रहँदाको भाव लेख्न मन लाग्यो। हिजोआज म विदेशीहरूलाई नेपाली भाषा पढाउँछु। पढाउन मलाई मज्जा लाग्छ। विश्वभाषा क्याम्पसमा भाषा सेमेस्टरमा विभाजित गरेर पढाइन्छ। एउटा सेमेस्टरको लागि ६ महिनाको अवधि हुन्छ। नेपाली भाषाको लागि अहिले विश्वभाषामा ६ सेमेस्टरसम्मको पढाइ हुन्छ र म पहिलो सेमेस्टरको कक्षामा पढाउँछु।

विभिन्न देशका विद्यार्थीहरू भाषा पढ्न आउँछन्। कक्षामा उनीहरू एउटा सुन्दर बगैँचाका विभिन्न रङका फूलहरूजस्तै देखिन्छन्। कोही गोरा, कोही गहुँ गोरा, कोही काला। मान्छे जहाँका भए पनि रगत त रातो हुन्छ तर छालाको रङ फरक हुने रहेछ। कपालको रङ पनि कालो, सेतो, खैरो। आँखाको रङ पनि निलो, कुहिरो र कालो। यी कुराहरू एकैसाथ देख्दा मनमा पनि फरक किसिमको अनुभूतिले अनौठो आकार बनाउने रहेछ। यस्तो बगैँचामा बसेर पढाउनुको आनन्दै बेग्लै किसिमको हुने रहेछ। पहिलो सेमेस्टरमा उनीहरू भरखर सिक्दै गरेका हुन्छन्।

मैले अमेरिका, बेलायत, अफ्रिका, नर्वे, स्वीडेन, डेनमार्क, स्कटल्याण्ड, जर्मनी, नेदरल्याण्ड, अष्ट्रेलिया, चाइना, मलेसिया, ताइवान, सिङ्गापुर, बेल्जियम, श्रीलङ्का, बाङगलादेश, पाकिस्तान, जापान, उत्तर कोरिया, दक्षिण कोरियाका विद्यार्थीहरूलाई पढाएँ। धेरै जापानी र कोरियनलाई पढाएँ। उनीहरूलाई पढाउँदा म उनीहरूका भाषा संस्कृति पनि पढ्ने  अवसर पाउँछु। मानिसका आफ्नै चालचलन, रहनसहन अनि व्यवहार कस्तो फरक हुने रहेछ। नेपालमा राम्रो मानिने केही कुरा विदेशमा नराम्रो मानिने रहेछ त्यस्तै विदेशमा राम्रो मानिने केही कुरा नेपालमा नराम्रो मानिने रहेछ। उदाहरणको लागि-  नेपालमा खाना खाँदा हातले खाने चलन छ । पाहुनालाई खाना खुवाउँदा थपी थपी खुवाउने चलन छ। पुग्यो भन्दा पनि कर गर्ने चलन छ। खाना थपेर खुवाइएन भने पाहुनाको इज्जत नगरिएको भन्ने बुझिँदो रहेछ तर युरोपका देशहरूमा खाना खाँदा कतै  काटा,चम्चा र छुरीले खाने चलन छ । पाहुनालाई खाना खुवाउँदा कर गर्ने चलन छैन रहेछ। खाना पुग्यो भनेपछि थप्नु नराम्रो मान्दा रहेछन्। कर गरेर खाना थपिदियो भने पाहुनाको इज्जत नगरिएको भन्ने बुझिने रहेछ। युरोप अमेरिकामा आफूलाई चाहिने जति खाना आफ्नै इच्छाले खान्छन् भने नेपालमा खाना नथपिदिए आधा पेट लिएरै उठ्छन्। जसरी नेपालमा रातो कपडाको महत्व हुन्छ भने युरोपमा सेतो कपडाको। बिहेमा यहाँ रातो कपडा शुभ मानिन्छ भने विदेशका केही देशमा सेतो कपडा शुभ मानिन्छ। बिहेमा यहाँ रातो कपडा लगाएर जानछन्। सेतो कपडा त यहाँ बाबुआमा, पतिको मृत्यु भएर शोक बार्दा लगाइने चलन छ। बिहे गरेकी नारीले सेतो कपडा लगाउदिनन्।

भाषा सिक्न चहानेहरूले भाषासँग जोडिएर आएका खाना, पहिरन, हिँडाइ, गीत सङ्गीत, रीतिरिवाज, धर्म, सम्बन्ध अनि वातावरणको पनि अध्ययन गर्नु आवश्यक हुन्छ। यी कुराहरू अध्ययन गर्नेले भाषा सिक्दा सजिलको अनुभूति गर्न सक्छ भन्ने मलाई लाग्छ। भाषामा देश समाजको संस्कार जोडिएर आएको हुन्छ। मानिसहरूको आफ्नै पहिचान हुन्छ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

फरक फरक देशका फरक फरक भाषा, संस्कृति, रहनसहनले मानिसलाई बेग्लै किसिमको अवधारणा बनाउने अवसर दिने रहेछ। हो, पढाउँदा मैले यस्तै अवसर प्राप्त गर्ने गरेकी छु। नेपालको भाषा सिकाउँदा यहाँको संस्कार अनि चालचलन पनि सिकाउनु पर्ने हुन्छ। परिचयबाट सुरु गर्दै अगाडि बढ्दा कतिपय कुरा उनीहरूको संस्कार अनि चालचलनसँग मेल नखाने पनि हुने रहेछ।

कक्षामा कुराकानी गर्दा सम्बन्धको चर्चा भएको सम्झन्छु। केटासाथी र केटीसाथीको बारेमा। केटासाथी र केटीसाथी भन्नले यहाँ सामान्य अरू साथीहरू जस्तै भन्ने हामी बुझ्छौँ तर विदेश केही देशमा विशेष किसिमले लिइने रहेछ। उता बिहे अगाडि नै सँगै बस्ने साथीलाई केटासाथी र केटीसाथी भनिने रहेछ तर यहाँ केटाकेटी बिहे अगाडि सँगै बस्दैनन्। त्यसरी केटाकेटीसँगै बस्दा समाजले स्वीकार्दैन। बाबुआमाले पनि आफ्ना छोराछोरीलाई बिहे अगाडि सँगै बस्ने अनुमति दिँदैनन्। यही विषयको बारेमा एउटा प्रशङ्ग यहाँ जोड्न मन लाग्यो। केही वर्ष पहिला मैले पढाउने कक्षामा पचास वर्षकी अमेरिकन विद्यार्थीले थिइन्। उनी साह्रै रमाइली र उत्साही थिइन्। यस्ति मान्छे कक्षामा केही दिनदेखि निराश भएकी थिइन्। उनमा आएको निराशा देखेर मलाई कस्तो कस्तो लागेको थियो। हुन त उनी सधैँ रमाउँथिन्। साथीहरूसँग पानि हँसाउने पाराले कुराहरू गर्थिन्। मनमा लागेका कुराहरू मज्जासँग भन्ने गर्थिन् तर अचानक उनी त्यसरी निराश भएको देखेर कक्षाका अरू विद्यार्थीहरू पनि खुसी हुन सकेका थिएनन्।

एक दिन उनको अनहारमा खुसी देखियो । उनी खुसी भएर कक्षामा आउँदा उनका सबै साथीहरू पनि खुसी भए। उनको खुसीको बारेमा एकजना उनको साथीले सोधे, “तपाईँ खुसी छ हामी पनि खुसी छ। आज खुसी छ किन ? भन्न मिल्छ? ’ ती जर्मनले नेपाली भाषामै यसरी कुरा गरे। कक्षा हाँसोमा गुञ्जियो। मलाई पनि रमाइलो लाग्यो उनीहरूको कुरा सुनेर। अमेरिकन विद्यार्थीले मन्द मुस्कानमा आफ्नी छोरीको बारेमा भनिन् – केही दिनदेखि उनी आफ्नी छोरीको बारेमा चिन्तित रहिछन्। छोरीको उमेर बढ्दै गएको तर उसले कुनै केटा साथी बनाउन सकेकी रहिनछ। अमेरिकामा आफ्ना छोरा होस् वा छोरीले पन्ध्र सोह्र वर्षको उमेरदेखि नै केटा वा केटी साथी बनाउँदा रहेछन्। समयमा आफ्ना छोरा वा छोरीले केटा वा केटी साथी बनाउन सकेनन् भने आमाबाबुलाई चिन्ताले धेर्ने रहेछ, उनको कुराबाट मैले यही बुझेँ त्यतिबेला। छोरीका अरू साथीहरूले केटासाथी बनाइसकेका रहेछन्। यही कुराले उनलाई पनि बेला बेलामा सताउँदो रहेछ। आफ्नै छोरीमा केही कमी छ कि भनेर उनले पत्ता लगाउने अनेक बाटाहरू खोजिछन् तर सफल हुन सकिनछन्। दिक्क भएर नेपाल आएकी रहिछन्। यस किसिमको मानसिक अवस्थामा छोरीले अमेरिकाबाट फोन गरिछ, “मामा, आइ एम सो ह्याप्पी, मलाई नौ जना केटा साथीले प्रस्ताव राखे। मलाई सबै केटा साथीहरू मन परेका छन् तर कुन चाहिँलाई केटा साथी बनाउने हो भनेर निर्णय गर्न सकेकी छैन। “ उनलाई आफ्नी छोरीलाई नौ जना केटाहरूले मन पराएकोमा गर्व भएछ। उनले पनि छोरीलाई भनिछन्, “ तेरो भित्री मनले जसलाई चाहन्छ त्यही केटा रोज्न त।“ छोरीको कुराले उनलाई खुसी बनाएछ। यही कुरा उनले सबैलाई सुनाइन्। अब उनी छोरीको बारेमा ढुक्क छिन् रे। उनका साथीहरूले उनलाई बधाई दिए। मैले भने उनलाई त्यतिबेला के भन्नु पर्छ भन्ने कुरा सोच्नै सकिनँ। मेरो समयको कुरा मनमा झलझली चित्रजस्तै आउन थाले। म सानी हुँदा केटाहरूसँग बोल्नु पनि अपराधजस्तै मानिन्थ्यो, केटासाथी बनाउनु त धेरै परको कुरा थियो।

कुनै एउटा केटाले मन पराएको वा केटीले केटालाई मन पराएको कुरा समाजले अहिलेको परिस्थितिमा पनि त्यति सजिलै स्वीकार गर्न सकेको जस्तो मलाई लाग्दैन। नौ जना केटाले छोरीलाई मन पराए म खुसी छु भनेर कुन चाहिँ आमाबाबुले गर्वका साथ भन्न सक्छन् यहाँ ? हाम्रो संस्कृतिले यो कुरालाई छुट दिएको छैन। युरोप, अमेरिकाका देशहरूमा आफ्नो छोरा वा छोरीले आफूलाई मन नपर्ने केटा वा केटी साथीसँग छुटेर अर्को साथी बनाउँदा पनि राम्रो मानिने चलन रहेछ। यहाँ बिहे भएपछि केटाले होस् वा केटीले होस् मन परे पनि मन नपरेपनि सँगै बस्नु पर्ने चलन छ। शहरिया समाजमा मुखले त छोरी वा छोराले कुनै केटी वा केटा मन पराएको छ भने हामी स्वीकार्छौ भनेर बाबुआमाले भन्ने गरेको पाइन्छ। केही परिवारले गरेका पनि छन् तर धेरैले स्वीकार गर्न सकेको जस्तो अनुभूति हुँदैन मलाई। यहाँ पनि केही परिवर्तन आएको छ। एसियाका देश जापान कोरियामा पहिला नेपालको जस्तै थियो रे अहिले सम्बन्धको बारेमा परिवर्तन भएको छ रे। यहाँ नेर केटाकेटीको सम्बन्धको बारेमा स्वदेश र विदेशमा कति फरक कुरा हुने रहेछ भन्ने कुरा मैले बुझेँ।

मेरो मनमा सलबलाएका भावहरूको बारेमा लेख्दा आफूले पढाएका धेरै विद्यार्थीहरूका सम्झनाहरूसँगै बगिरहेकी छु यतिबेला नदीजस्तै सलल, सलल।

Facebook Comments